एसियाडमा नेपालले २२ खेलमा १३६ खेलाडी सहभागी गराउने
काठमाडौँ। जापानको आइची/नागोयामा हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १३६ खेलाडीले सहभागिता जनाउने भएका छन्।
८० पुरुष र ५६ महिला गरी १३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जनाएका छन्। प्रशिक्षक संख्या ३२ छ।
नेपालबाट आर्चरीमा १/१ पुरुष/महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २/२ पुरुष/महिला, बक्सिङमा चार पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा १-१ पुरुष/महिला तथा डान्स एन्ड स्पोर्ट्समा एक पुरुष खेलाडी सहभागी हुनेछन्।
त्यस्तै गल्फमा ३ पुरुष र १ महिला, जुडोमा ३/३ पुरुष/महिला, कबड्डीमा १२-१२ पुरुष/महिला, करातेमा ३ पुरुष र ५ महिला, स्केटबोर्डमा २ पुरुष, सफ्टटेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा १/१ पुरुष/महिला, पौडीमा ३ पुरुष र २ महिला, टेबलटेनिसमा ३/३ पुरुष/महिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, महिला भलिबलमा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ८ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
चीनको हाङझावमा भएको १९औँ एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका थिए। १२६ पुरुष र १२७ महिला खेलाडीले भाग लिएका थिए।
हाङझाव एसियाडमा नेपालले समान १-१ रजत र कास्य पदक जितेको थियो। ऐतिहासिक पदक जित्ने क्रममा करातेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले कास्य जितेको थिए। एसियाडमा दुवैको पहिलो सहभागिता थियो। २०औँ एसियाड ३ असोजदेखि सुरु हुँदै छ।